चालीस वर्षपछि मन्दिरमा फर्काइँदै ऐतिहासिक ब्रह्माको मूर्ति
१७ कार्तिक २०८२, आइतबार
काठमाडौँ । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा अब मन्दिरमै पुनःस्थापना गरिने भएको छ ।
काठमाडौँ महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा रहेको मूर्ति ४० वर्षदेखि संरक्षणको अभावमा गौशाला प्रहरी वृत्तमा राखिएको थियो ।
मूर्तिलाई मन्दिरमा पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिका–८ कार्यालयले पहल सुरु गरेको महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडाअध्यक्ष आशामान सङ्गतले जानकारी दिनुभयो ।
सोमबार मूर्ति पुनःस्थापना गरिने र कात्तिक २१ गते उद्घाटनको तयारी भएको उहाँले बताउनुभयो । छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मुर्ति पनि चोरी भएको उहाँले बताउनुभयो । उक्त मूर्ति पछि भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको हो ।
मन्दिरको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।