काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने बताउनुभएकाे छ ।
कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो नहुने बताउनुभएकाे हाे ।
उहाँले, “विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो,” उहाँले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिकरूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिक भएको बताउनुभयो ।
“हामीले सार्वभौम नागरिकको समानतामा ध्यान दिनुपर्छ, नेपालको अर्थतन्त्रको आधार भनेको ज्ञान र सीप नै हो, मानिसलाई ज्ञान र सीपयुक्त बनाउनु जरुरी छ, विपन्न लक्षित कार्यक्रममा ज्ञान सीपले दक्ष बनाउने हुनुपर्छ, सीप सूचना र प्रविधिले ल्याएको परिवर्तनसँग मेलखाने र सँगसँगै जान सक्ने खालको हुनुपर्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठीक भएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिवेदन पार्टीको सम्पत्ति भयो भन्दै सङ्घीय बजेटमा पर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव पेस गर्न आग्रह गर्नुभयो ।