काठमाडौँ । आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्।
विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो।
यसैबीच, विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति सार्वजनिक गर्ने क्रम पनि जारी छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति र संरचनाहरू सक्रिय भइरहेका छन्। शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले विशेष महाधिवेशनको समर्थनमा -याली निकाल्ने भएको छ।
कांग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनको पक्षमा कांग्रेसको १४औँ महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ।