देउखुरी । तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन् । साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन् । घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल)का विद्यार्थीको दैनिकी यस्तै छ । यो नदीको बहाव उत्तरतिर भएकाले यस नदीको नाम उत्तरबाहिनी नामकरण गरिएको छ । जहाँ–जहाँ उत्तरतिर नदी बगेका छन् ती सबै पितृका दिशा भएकाले धार्मिक रूपमा पवित्र मानिन्छन् ।
उपमहानगरपालिकाको वडा नं ७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय योगी नरहरिनाथको सक्रियतामा क्षमकान्त धितालको परिवारले २०२२ सालमा २६ बिघा चार कट्ठा एक धुर जग्गा दान दिएर स्थापना गरेको गुरुकुल हो ।
दाताले गरेको दानबाट बचेको रकमको परिचालन वटुकहरूको खानपानको व्यवस्था हुने गरेको प्रबन्धक भट्टराईले जानकारी दिनुभयो । दिगो व्यवस्थापन नभएका कारण दाताको दानले मात्रै गुरुकुल सञ्चालन गर्न कठिन हुने उहाँ बताउनुहुन्छ । तीनवटै तहका सरकारको सहयोग भएमा गुरुकुल सञ्चालन निर्वाध हुने उहाँको विश्वास छ ।