गोकर्णेश्वरमा १५ दिने उद्घोषण, प्रस्तावना र प्रतिवेदन लेखन तालिम सम्पन्न (तस्विरसहित)

दक्ष खबर 16581+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिका वडा ५ को आयोजनामा सञ्चालित १५ दिने उद्घोषण, प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी तालिम भव्य रूपमा सम्पन्न भएको छ। तालिमले महिलाहरूलाई नेतृत्व विकास, उद्घोषण कला, प्रस्तुति कौशल र प्रतिवेदन लेखनजस्ता महत्वपूर्ण सीपहरू प्रदान गर्दै उनीहरूलाई आत्मविश्वासी र सक्षम बनाएको सहभागीहरूको अनुभव छ।

समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख श्री दीपक कुमार रिसालले महिलाहरूको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर र समाजमा नेतृत्वदायी भूमिकामा लैजान यस्ता तालिमहरू आवश्यक रहेको बताउँदै आवश्यक परे यस्ता कार्यक्रमलाई निरन्तरता दिन र थप सहयोग गर्न नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि नगर उपप्रमुख सान्नानी लामाले तालिमले महिलाहरूमा रहेको नेतृत्व क्षमता र सृजनशीलता उजागर गर्नुका साथै आफ्ना विचारहरू आत्मविश्वासका साथ व्यक्त गर्न उत्प्रेरित गरेको धारणा राख्नुभयो। उहाँले सार्वजनिक कार्यक्रममा उद्घोषण, प्रस्तावना र प्रतिवेदन लेखनजस्ता सीपले महिलाहरूलाई समुदायमा सकारात्मक भूमिका निर्वाह गर्न सक्षम बनाएको र आगामी दिनमा यस्ता तालिमहरूलाई प्राथमिकताका साथ निरन्तरता दिइने उल्लेख गर्नुभयो।


नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले तालिमको उद्देश्य महिलाहरूमा बोल्ने क्षमता, समूह सञ्चालन गर्ने नेतृत्व कौशल र टोलमा देखिएका समस्या उठान गर्दै योजना माग गर्न सक्ने सामर्थ्य विकास गर्नु रहेको जानकारी दिनुभयो । तालिममा सहभागी प्रशिक्षार्थी रिया बरालले तालिमले उद्घोषण कला मात्र नभई उचित सुझाव र सूचना प्रदान गर्ने क्षमता विकास गरेको र कार्यक्रम प्रवाह सहज तथा आकर्षक बनाउन सिक्न पाएको अनुभव साझा गरिन्।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, लेखा अधिकृत रामजी रायमाझी, वडा सदस्य श्री योगी, धर्म थिङ, कमला नेपाली, लक्ष्मी पुडासैनीलगायत प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम वडा सचिव अनिताको सभापतित्वमा र पार्वती शर्माको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार