काठमाडौँ । “एकवृक्ष राष्ट्रको नाममा” भन्ने नारा सहित आज देशव्यापी १ करोड वृक्षारोपण अभियानको शुभारम्भ भएको छ । वृक्षारोपण कार्यक्रममा अन्तराष्ट्रिय अभियन्ता एवम् सिद्धाश्रम रत्न अजय अवस्थीज्यू, वनमन्त्री ऐन बहादुर शाही ज्यू र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले संयुक्त रुपमा वृक्षारोपण गरेर अभियान शुभारम्भ भएको घोषणा गर्नुभयो ।
काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेची देखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अन्तराष्ट्रिय अभियन्ता, सिद्धाश्रम रत्न एवम् संगठनका केन्द्रिय महासचिव श्री अजय अवस्थी ज्यूले कार्यक्रममा बोल्दै जलवायु परिवर्तन, वायु प्रदुषण, बाढी–पहिरो लगायतका समस्यालाई दृष्टिगत गर्दै अभियान शुचारु गरिएको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वनमन्त्री ऐन वहादुर शाहीले सरकारले कार्यक्रमलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार समेत वर्तमान प्राकृतिक विपद्का घटनाप्रति गम्भिर भएको भन्दै वृक्षारोपणले समस्या समाधानमा बहुआयामिक लाभ पुर्याउने बताउनुभयो । यस्तै कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, वनमन्त्री शाही र महासचिव अवस्थिज्यूले एकसाथ विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । संगठनले देश भर स्वयंसेवक कार्यकर्ता र आम जनसमूदायसँगको सहकार्यमा गाउँ गाउँमा पुगेर परिवारका प्रत्येक सदस्यको नाममा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिने संगठन की सचिव डा. मिनु सिग्देलले बताउनुभयो ।
यस्तै, संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ। संगठनले चलाएको नशामुक्ति अभियानमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ । संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।